सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।
“…म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ…” पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो “…राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको”
“मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्…” दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो “… राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु “
“मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन…” तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो “…मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको”
उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।
त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।
“तिमीहरु सबै यहीँ नै रहेछौ,…देशमा भर्खरै ठुलो राजनैतिक परिवर्तन भएको छ …थाहा पायौ ?…” भित्र पस्दापस्दै चौँथो व्यक्तिले पहिलो व्यक्तितर्फ हेर्दै भन्यो “…तिम्रो दलले आफ्नै सरकार बने मात्रै समस्या समाधान हुने भन्दै अहिलेको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ..”
त्यसपछि उ दोस्रो युवकतर्फ फर्यो “…अनि तिम्रो दलका नेताहरु बीच भने हालको अबस्थामा के गर्ने भन्ने वारेमा गम्भीर मतभेद भएछ…” उसले अगाडि भन्यो ” …त्यसैले अब कसलाई समर्थन र कस्को विरोध गर्ने भन्ने वारेमा मतभेद हुँदा तिम्रो दल टुक्रीने पक्का भएको छ “।
त्यसपछि उसले तेस्रो व्यक्तिलाई हेर्दै भन्यो “परिवर्तत अबस्थामा के निर्णय लिने भने निर्क्योल गर्न नसकेपछि तिम्रा दलका वरिष्ठ नेतहरु भने अहिले छिमेकी राष्ट्रका राजदूत भेट्न विदेशी नियोगमा पुगेकाछन् “
त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।
मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिना नै भए ।
केही दिन पश्चात भने सो माहौल परिवर्तन भएको आभाष पाए जनताले । पुराना हस्तीहरु फेरि पनि सेवाग्राहीसंग बेधक दस्तुर माग्न थाले । अचम्मको कुरा के थियो भने अबका दिनमा दस्तुरको रेट पहिले भन्दा बढेको थियो । नयाँ आएका निरीक्षकको पनि भाग छुट्याउनु पर्ने भएकोले साबिक बमोजिम लिँदै आएको चिया खर्च र दस्तुरीमा बृद्धि गर्नु परेको बताएर कर्मचारीहरु पहिला सय लिने कामको लागि डेढ सय र हजार को बाह्र सय आदिको दरमा फेरि सेवाग्राहीलाई सताउन थाले ।
पीडित सेवाग्रही फेरि समस्या लिएर सम्बन्धित निकायमा धाउन थाले । स्थितिको गाम्भिर्यलाई ध्यानमा राखेर यसपाला भने केन्द्रबाट त्यो कार्यालयको हेरक काउण्टर र जन सम्पर्क हुने कोठामा स्वचालीत क्यामारा राखेर निगरानी गर्ने प्राविधिक अनुगमनको अचुक उपाए अबलम्बन हुने बताईयो ।
हाल सो कार्यालयका हरेक कोठा र हरेक टेबल माथी हरपल निगरानीका लागि स्वचालीत क्यामरा चलेका छन् अनि सेवाग्राहीहरु पनि क्यामरा मुनि नै दस्तुर र दक्षीणा दिन बाध्य छन । यो प्राविधिक प्रयोग पछि परिवर्तन नभएको होईन, परिवर्तन भएकै छ ….जनताहरुले कामको लागि सो कार्यालय धाउँदा उक्त अदृश्य प्राविधिकको समेत भाग थप गरी दस्तुर बुझाउन थालेका छन् ।
लोकगीत प्रतियोगिताको समापन समारोहमा गएर मन्त्रीज्यूले निकै सान्दर्भिक र सागर्भित भाषण दिए : “संस्कृति नै हाम्रो पहिचान हो…हाम्रो संस्कृति रहेसम्म मात्रै हामी रहन्छौं, संस्कृति नै रहेन भने हाम्रो अस्तित्व नै रहँदैन । त्यसैले हामीले हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्नु पर्छ …, …”
तालीको गडगडाहटद्वारा मन्त्रीज्यूको भाषणको स्वागत गरीयो । गन्यमान्य व्यक्ति र अन्य विद्वान वक्ताले उहाँको संस्कृति प्रेमको उच्च मूल्याकंन गरे । आफ्नो भाषा र संस्कृतिप्रति मन्त्रीज्यूको सदभाव र झुकाव देखेर उपस्थीत जनसमुदाय गद्गद् भयो ।
कार्यक्रम समापनपश्चात् मन्त्रीज्यू हतार हतार आफ्नो चिल्लो आरामदायी गाडीमा पसे । गाडीका ढोकाहरु ढाकढुक बन्द भए । मन्त्रीज्यूलाई बिदाइ गर्न आउनेहरु गाडी बाहिरबाटै हात जोडेर अभिवादन गर्दै थिए ।
गाडीभित्रको रेडीयोमा मधुरो स्वरमा यौटा पुरानो नेपाली गीत बजिरहेको थियो । चालकले गाडी स्टार्ट गर्नै लागेको थिए, मन्त्रीज्यूको आवाज आयो : “ खै, रामबहादुर, पहिले त्यो गीत बन्द गर त …!…यहाँपनि दुई घण्टासम्म पट्यार लाग्ने लोकगीत सुन्दा-सुन्दा दिक्क लागेको छ … बरु एफ. एम. लगाऊन, त्यहाँ नयाँ-नयाँ हिन्दी र अंग्रेजी गीतहरु बज्दै होलान ।”
केही समयअघि उसको घरसंगैको एकजना छिमेकीले घर अगाडिको बाटो र घरको बीचमा रहेको केही जग्गा मिचेर पर्खाल लगाएको थियो । यसरी सार्वजनिक जग्गा मिचेर छिमेकीले आफ्नो कम्पाउण्ड बढाएको कुरा उसलाई चित्त बुझेन । उसले विरोध गर्नु पर्ने ठाउँमा गएर विरोध गर्यो, उजूर हाल्नु पर्ने ठाउँमा गएर उजूर हाल्यो । तर उजूर कमजोर भएर हो वा छिमेकी बलियो भएर हो कुन्नि, न त कसैले अनुसन्धान नै गर्यो, न त छिमेकी नै कारवाहीमा पर्यो । लगाएको पर्खाल लगाएकै भयो ।
त्यसको केही समयपछि उसको अर्को छिमेकीले पनि विस्तारै आफ्नो पर्खाल मर्मत गर्ने बहानामा पुरानो पर्खाल भत्काई दुई-तीन फिट बाटो च्यापी नयाँ पर्खाल लगायो । उसले पुन: निवेदन दिनुपर्ने ठाउँमा गएर निवेदन दियो, नालिस हाल्नु पर्ने ठाउँमा गएर नालिस पनि हाल्यो । तर नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।
अघिल्ला दुई जनाबाट प्रेरणा पाएर गएको हप्ता, उसको तेस्रो छिमेकीले आफ्नो चार आनाको जग्गालाई बाटोतर्फ ‘घचेटेर’ ६ छ आनाको बनायो । यसरी सवैजनाले सार्वजनिक जग्गा मिच्दै व्यक्तिगत बनाउँदै गरेको उसलाई पटक्कै मन परेको थिएन । तर किन हो कुनि यसपाला भने उसले मुद्दा हालेर शत्रु कमाउने काम पनि गरेन, निरर्थक विवाद गरेर मूर्ख बन्ने बाटो पनि रोजेन ।
ऊ यसरी चुपचाप शान्त बसेको देखेर छर-छिमेकमा सबै छक्क परेका थिए । वास्तवमा अर्काले हाकाहाकी सार्वजनिक जग्गा मिच्दा पनि ऊ यसरी शान्त बस्नु एउटा आश्चर्यकै कुरा थियो । तर आश्चर्य भन्दा महा आश्चर्य घटेपछि मात्र सबैले उसको परिवर्तित शान्त स्वभावको रहस्य बुझे । कुरा के भने, आज बिहानदेखि ऊ पनि विस्तारै आफ्नो घर कम्पाउण्डको पुरानो पर्खाल भत्काएर चार फिट अगाडि नयाँ पर्खालको जग खन्दै थियो ।
उसलाई सानै देखि साहित्यमा एकदमै रुचि थीयो। उमेर र अनुभवहरु बढ्ने क्रममा उसको पढ्ने रुचि बिस्तारै लेख्नेतर्फ पनि मोडियो ।
आफ्नो देश, भाषा र संस्कृति प्रति अगाध प्रेम र लगाव भएकोले उसको रचनाहरुमा पनि देश-प्रेम, सौन्दर्यचेत र सामाजिक भावहरु प्रष्ट भेटिन्थे । उ यस्तै सामजिक भावना र देशप्रेमको वारेमा कथा, कविताहरु लेख्थ्यो: “हिमाली छाया”, “नेपाली माया” “सुनौलो बिहानी” आदि आदि । तर सम्पादकहरु उसका रचना पढ्न अल्छी मान्थे, पत्रिकाहरुमा उसको कविताले ठाउँ पाउँदैनथे र उसका रचनाहरु आफ्नै डायरीमा मात्रै सीमित थिए ।
बिस्तारै उसले बजारमा चल्ने साहित्यमा कलम चलाउन थाल्यो र अधुरो बिषय, असम्भव शीर्षक र बेमेल कथनहरुलाई आफ्नो रचनामा उतार्न थाल्यो : “हिंसक बुद्ध”, “खुकुरी काट्ने अचानो”, “लंगडाको जुत्ता” आदि आदि। अब बिस्तारै प्रकाशन गृहहरुमा उ चिनिन थाल्यो, पत्र-पत्रिकामा फाट्ट-फुट्ट उसका रचनाहरु छापीन थाले र उ ‘राम्रो लेख्ने’मा गनिन थाल्यो ।
हिजोआज, उसको कविता भन्दा कविताको शीर्षक लामा हुन्छन। उसको कथाको पहिलो अनुच्छेद र दोश्रो अनुच्छेदमा कुनै तारतम्य भेटिन्नन। उ निबन्ध जस्तो कविता, कथा जस्तो गीत र सम्बाद जस्तो समिक्षा लेख्छ ।
आजकल उ अमूर्त सर्जक र दर्शन-लेखकको नामले चिनिन्छ र सामान्य मानिसको दिमागबाट छिर्न हम्मे हुने शीर्षकमा रचनाहरु लेख्छ: “चीसो आगो”, “लाटोकसेरोको सपना”, “भिसेनको पाखुरा र जंगली च्याँखुरा” आदि आदि। उसका रचनाहरु सम्पादकहरु मागी मागी छाप्छन, प्रबुद्धवर्गहरु खोजी खोजी पढ्छन र उसले कैयौं प्रशंसापत्र र पुरस्कारहरु पनि पाई सकेको छ ।
उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उलसे कानुनमा स्नातक गर्यो ।
पढाइ सक्काउन त गाह्रो छँदैथियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्यो । महिनौंको शीष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्यो ।
जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा यौटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर यौटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”
दिन बित्दै जाँदा, कानुनि सल्लाह लिन आउनेको भन्दा फोन गर्न आउनेको संख्या बढ्दै जान थाल्यो । शुरु शुरुमा भाडा उठाउन पनि मुश्किल हुनेमा बिस्तारै बहाल तिरी केहि मुनाफा समेत हुन थाल्यो ।
केही समयपछि एकदिन उनिहरुको बीचमा गम्भीर छलफल भयो। त्यसको भोलिपल्ट उनीहरुको साईनबोर्ड परवर्तन गरिएको थियो:- “यहाँ एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ” अनी साईनबोर्डको अलि तलपट्टि सानो अक्षरमा लेखिएको थियो ‘साथै यहाँ कानुनी सल्लाह पनि दिईन्छ।’
यौटा गैह्र सरकारी संस्थानको आयोजन, स्वदेशी बिद्धानहरुको संयोजन र बिदेशी दाताको प्रायोजनमा त्यो गाँउमा बालश्रमको बिषय लाई लिएर यौटा बिचार गोष्ठि भयो ।
बालहितको नारा, अविभावकले लिनु पर्ने अविभारा र अन्तराष्ट्रिय बिचारधारालाई दृष्टिगत गर्दा बालबालीकालाई श्रममा लगाउन नमिल्ने देखिएकोले गोष्ठिको अन्तिम दिन अब उप्रान्त त्यस गाँउमा बालबालीकाहरुलाई कुनैपनि किसीमको श्रममा नलगाउने र लाग्न नदिने निर्णय भयो ।
खर्च जुर्टाईदिने दाता, समाज सुधारक भनेर चिनीएका नेता र आयोजक कार्यकर्ताले करतल ध्वनीका साथ सो निर्णयको स्वागत गरे ।
भारी बोकेर गुजारा गर्ने हर्के, गिट्टी कुटेर जिबन धान्ने बिर्खे र उन कातेर हातमुख जोर्ने जितेका परिबार यो निर्णय सुनेर अकमक्क परे ।
उक्त कार्यको ‘सफलता’ पछि शहर फर्केका संयोजकहरु प्रायोजकको गुण गाउन थाले, प्रायोजकहरुले समाजसेवीको दर्जा पाउन थाले भने आयोजकहरु त्यो भन्न्दा पनि शसक्त अर्को योजना बनाउन थाले ।
उता गाँउमा, दिनभरि गिट्टी कुटेर रातीको पाठशालामा पढने बिर्खेको छोरा बालश्रम उन्मुलन भई काम खोसीएकोले पैसा तिर्न नसक्दा कक्षाबाट निकालीयो । गलैंचाको धागो कातेर बाबुआमा पाल्ने जितेकी छोरी बेकम्मा भई बरालीएर हिडन थाली भने बिरामी आमाको उपचार खर्च जुटाउन अरु कुनै श्रोत नभए पछि हर्केको छोराले पाकेट मार्ने पेशा अपनाउन थाल्यो ।
यता आयोजकहरुले दातालाई दिएको प्रतिबेदनले गाँउमा बालश्रमको अन्त्य भएको देखाँउदै थियो । उता गाँउमा रोजगार खोसीएकोले बाल अपराध मौलांउदै थियो ।
No comments:
Post a Comment