Tuesday, September 7, 2010
ईश्वर तिम्रो शोकगीत
ईश्वर आफै छक्क परिरहेको थियो
अनावृत रूपको कथामा
कि युगौँदेखि प्रार्थनाहरूको बेहिसाब विलाप सुनेर पनि
ती मूर्ती र चित्रहरुमा पसेर नबोलिदिनु
कति गल्ती भएछ उसको
सम्पति र धर्मलाई शक्तिको इन्द्रजालमा
रुपान्तरण गर्नसक्नेले नै
उसको अवतारको फेटा गुँथेर
चुपचाप उसकै मृत्युको उत्सव माइरहेका थिए
आफ्नो इन्द्रियहरूको शक्तिबाट निरस्त भ्रम पनि
'भाग्य' र 'चमत्कार' को शेयर बजारमा
उचाइको ग्राफ छुन लम्किरहेको थियो
बजारको उतार-चढाउ चिन्ने भक्तहरू
अमर्त्य सेन र लुई आलथूसेहरूबाट आफूलाई
सुहाउँदो जीष्ट झिक्दै
कुनै सफ्टवेयर वा सूचना सञ्जालको रूपमा
नागबेलिँदै गइरहेका थिए
ईश्वर, जो अदृश्य र अनुपस्थित ईथरको मातमा झुलिरहँदा
संसारै उसको नामको गीतले थाकिसकेको देखेर लाचार भइरहँदछ
उसको नाममा लिखित किताबहरुबाटै गूढार्थहरु उठाई अनि
संसार र मानिसको अन्त घोषणा गर्दछ
मानिसले नै ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment