माटो
सिर्जनाको रङ्गमा रङ्गएिर संसार सम्पन्न पार्छ ।
कर्मको खेतीमा झुलेर
माटो-जीवन ऐर्श्वर्यले भर्छ ।
जति खन्यो उति गहिरिदै
जाने
माटोको स्वभाव
मलाई त औधी मनपर्छ ।
हलो, कुटो र कोदालोको
अनन्त प्रहारपछि पनि
फूल झैँ सधै मुस्कुराइरहने
माटोको गुण
साच्चै ! अनौठो लाग्छ ।
अरुलाई दिन मात्र चाहन्छ
माटो
समर्पणमै जीवनको ज्योति देख्छ ।
माटो भेटिन्छ बरु
मान खोज्दैन ।
भत्किन्छ बरु
बाधा बन्दैन ।
नारीजस्तै सहनशील छ माटो
सहन्छ चोटहरु असंख्य
तर उफसम्म गर्दैन ।
माटोमा
फुलेका फूलहरु देख्दा
माटोमै बाँचेका
जीवन नियाल्दा
लाग्छ-
माटो
सिर्जनाको अनुपम उपहार रहेछ ।
साच्चै !
सृष्टिको सार रहेछ - माटो ।
जीवनको आधार रहेछ ।
माटोकै काखमा खेलिरहँदा
सोच्छु कहिलेकाहीँ
माटोबाटै बनेका मान्छे हामी
किन बर्सन्छौं होला माटोको रङ्ग ?
No comments:
Post a Comment