फूलको पराग यौटा अक्षर पाएँ।
एक छेस्का ढुंगा र एक चिम्टी माटो पनि मेरो हातमा आएर
अक्षरहरञ नै भइदिए । अनि यी अक्षरहरूलाई
एक थोपा पसिना र एक थोपा आँसुले मुछेर
    यौटा शब्दको आकृति दिएँ
    र मेरो सासको गन्ध हालेर
    मेरो स्वरको तरङ्गसित छोडिदिएँ।

मबाट छुटेपछि, त्यो शब्द पूरै डुलन्ते भयो।
जता गयो त्यतैको भयो। जोसित बस्यो उसैको भयो।
तर अडिएर कतै बस्न सकेन।
अचेल त्योसित मेरो कतै भेट भइहाले तापनि
त्यसले मात्रै चिन्छ मलाई। म राम्ररी चिन्दिनँ त्यसलाई।
त्यसले कहिलेकाहीँ बेलाउँछ मलाई। तर त्यसको स्वर
निकै भिन्दै भएको छ। भिन्दै भइरहन्छ।

एक पल्ट सोधेँ त्यसलाई—
"तँ किन यसरी बदलिरहन्छस् हँ, मेरो शब्द?"
त्यसले ठाडै जवाब दियो—
"अरे! तिमी चैँ किन बदलिन चाहन्नौ?
के तिमीले आफूलाई कहिले नबदलिने भगवान सम्झेको?
बदलिरहनुमा आनन्द छ। बदलिरहनुमा त
गति छ अनि जीवन छ। बुझ्यौ?"