Pages

Thursday, September 9, 2010

एउटी सानी केटीको कथा


देख्यौ तिमीले
आफुभन्दा दुगुना ठूलो भारी बोकेर
उँभो लाग्दै गरेकी
सानी केटी ?
सानो निधारमा उसको
नाम्लोको इन्द्रेणी रङ् कोरिएको छ
सानो पिठ्युँमा उसको
भारीको पहाड अग्लिएको छ,
बेस्याहारले धुस्रे-फुस्रे शरीरभरि
थाप्दै घरि घाम घरि पानी
उमेरभन्दा पाको अनुहारकी देखिन्छे
कठोर छ ढुङ्गेनी बाटो
बाउको मातेका अनुहारका आँखा र घोप्टे जुँगाजस्तै,
फुटेका नाङ्गा पैतालामा बिझउँछ बाटो
आमाको रोगी अनुहारमुन्तिरको भाइबैनीका नाङ्गा करङ्जस्तै,
घरि छिर्के आउँदा तातो भातको सपनाले
धरि गिज्याउँदा त...ल स्कुलको गाइँगुइँले
हृदयबाट हामफालेर एउटा तरङ्ग
वेगमार्छ स्कुल
फाँटतिर (बाउले बेची सिध्याएको खेत खोज्दै)
तर टालो हालेको घाँघरजस्तै
तह नमिलेको वर्तमानमा
नअट्दा कल्पनाका लहरहरु
खिन्न खिन्न
नीलो पसिनाले मेट्दै आफ्ना पैतालाका डोबहरु
उक्लदै छे जीवनको उकालो
देख्यौ कि तिमीले
रहरहरु कच्याककुचुक पारेर
भरेको डोकोमा
बाध्यता खेप्ने,
सपनाले डामेका पीरा आँखामा
अमिलो वर्तमान सकिनसकी बाकेर
फुल्दै अनि झर्दै
दुख्दै अनि पिल्सिँदै
जिन्दगीको उकालो लार्ग्द गरेकी
एउटी सानी दुःखी केटी !

No comments:

Post a Comment