Pages

Sunday, September 5, 2010

भत्किएको घर


सुनौलो परालको छाना
कालो रङ्गले पोतिएको झ्याल 
कमेरोले लिपिएको भित्ता
रातो माटो पोतिएको पिँढी 
अनि आँगनको एउटा कुनामा 
गाडिएको खम्बामा परेवाको गुँड 
र अर्को सुरमा मेवाको बोट...
                        
यही हो मेरो आँखामा रहेको सपनाको घरको चित्र
र अहिले त्यही घरको खोजीमा छन् मेरा पाइलाहरु । 
तिम्रो काखमा त्यसै आएको होइन, 
ए गाउँ, भनन मैले भनेको घर कहाँ छ ?
 
तर, गाउँमा सन्नाटा छ,
मानौँ हावा पनि यो गाउँलाई छलेर 
अर्कै बाटो बग्दैछ, 
मानौँ प्रकाश चाल मारेर 
गाउँको बाटो छलेर जाँदैछ अर्कै गाउँ । 
 
म, मुटु ढक्क फुल्ने त्रास वरिपरि डुलिरहेको
कहालीलाग्दो सुनसानसँग
नडराइकन खोज्दैछु मेरो स्मृतिमा रहेको घर । 
 
बेजोडले भुक्छ कुकुर एक्कासी
सातो जान्छ, फनक्क फर्किन्छु आवाजतिर,
भत्किएको घरको थुप्रोबाट 
एउटा कुकुर खुर्रर दौडिएर कान्लामुनि हाम्फाल्छ
मेरो ध्यान भने सम्पूर्ण ओइरिन्छ
त्यो भत्किएको घरमा । 
 
माथ्लो तल्लाको झ्यालको चौकोस
भत्किएर खसेको थियो
र पसारिएको थियो मूलढोकाको अघिल्तिर त्रिकोण भएर ।
सँगैको झ्याल झरेको थियो सके घरभित्रै 
र पुरिएको थियो मटानमुनि ।
बार्दलीको ढोका उत्तानो परेर पछारिएको थियो 
खापासहित छिँडीभित्र । 
छिँडीको झ्यालको चुकुल 
पिँढीमा खसेको थियो,
त्यसको चौकोस फुक्लिएर
झुण्डिएको थियो तुर्लुङ्ग झ्यालबाहिर ।
 
मटान थचक्क बसेको थियो
भर्याङ खप्टिएको थियो मटानमाथि,
दलिनहरु चरक्क चिरिएर
यसरी धसिएका थिए भूइँतल्लामा 
कि घुँडा जोतेर ढलेको छ
रणक्षेत्रमा एउटा योद्धा ।
 
कुनै दिन जब यसका झ्यालहरु खुल्थे
जब यसको ढोका खुल्थ्यो
सद्भाव, स्नेह र आत्मीयता
बाहिर निस्कन्थे
र बाँडिन्थे थकित बटुवाहरुको अँगालोमा ।
कुनैदिन यो घरको बाटो हिँड्नेहरुलाई
अझै पनि सम्झना होला
यो घरबाट फैलिएको सुगन्धी हावा ।
 
यी सबै सम्झिएर मेरो मन 
यतिखेर चर्चरी चिरिएको छ 
 
कुनै दिन आबाद यो घरका मान्छेहरु
कहाँ बर्साईँ सरे होलान् ?
यो भत्किएको घरका मान्छेहरुको निवास
कुन महादेशमा बन्यो होला ? 

No comments:

Post a Comment