Tuesday, September 7, 2010
टिस्टा बगरमा रोडा कुट्ने तरूणीहरूका बैँस
भिरालो
चट्टानमा उभेर
पहेँलो वैशाखलाई
शिरमा सिउरिने सालको रुकसित
जल्छन् टिस्टा बगरमा रोडा कुट्ने तरुणीहारू,
“त्यो बैँस र यो बैँस—
प्वाँक छ दुवैको मनमा
भीरमा फुल्ने फूललाई तर कसले सक्छ छुन…”
गाउँछन् सालका रुखहरु
तरूणीतिर चुल्ठो फर्काएर।
तरूणहरू भने
कुच्याउँछन् रिसले
आप्नै कोमल—नरम औँलाहरू
च्यात्छन्
आँखाको पातुलो फेरलाई
फ्याँक्छन् नाडीबाट फुकालेर
हथकडी जस्ता बाईँहरू
टोक्छन् जून कारका ओँठहरु
निलो टिस्टा प्रतिबिम्बित आ-आफ्ना अनुहारलाई
थुक्छन्
अनि, सँधैँ पोल्ने घामलाई कुच्याएर
छाया दिने कालो छाताभित्र घुसार्छन्।
सालका फूलहरू कराउँछन्—
‘तरूणी हो,
किन बोक्छौ काँधमा यसरी
बत्तीमा मर्ने पुतलीको लाशलाई,
त्यो प्राचीन भ्रमलाई
यो निरर्थक आवेगलाई
सँधैँभर!’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment