भित्तामा छन् गौतम बुद्ध
झुण्डेको छ भित्तामै खुकुरी
देश भित्तो हुन सक्दैन
तर भित्तामा देश टाँगेको छु
मनमा छ मेची
टाँस्सिएको छ दिलमा महाकाली
सम्झना र देश अलग कुरा हुन्
तर सम्झनामा देश अड्याएको छु
छ फेसबुकमा मेरो भ्याउरे खेाला
माइस्पेसमा छन् गाउँले मेरा
देश तस्विर हुन सक्दैन
तर तस्विरमा झुन्डेको छ देश
टिर्सटमा मुद्रित छ हिमाल
टोपीमा खोपिएको छ नेपाल
अक्षर र चिन्ह देश होइनन्
तर प्रतिकमा फैलेको छ देश
ब्लगभित्र 'डिजिटल्लि' छ नेपाल
वेब पेजभित्र पत्रैपत्र छ हिमाल
होइनन् , हुँदै होइनन् देश यी
तर छापिएको छ देश इन्टरनेटमा
पछ्याइएको छ मातृभुमी टि्वटरमा
खोजिन्छ 'ग्रेटर नेपाल' गुगल र युट्युबमा
क्लिक भइरहेछ मातृभुमी हरक्षण
डेस्कटप, ल्यापटप र ग्याजेटहरुमा
एनएको विमानबाट ओर्लँदा
देखिने भुमिमात्र देश होइन अब
देश अचेल संसारको कुनाकुनामा हुन्छ
चाहिन्छ दृष्टि, त्यहाँ सिंगो नेपाल हुन्छ
No comments:
Post a Comment