Tuesday, September 7, 2010
गाउँको खबर
ओजोनप्रस्तरको कलिलो अञ्जुलीबाट चुहेर
सूर्यवीर्य धरतीको कोमल गुप्ताङ्गमा पसेको छ
र गाउँमा हुर्केको छ
महा-खडेरीको बोली ।
शहरका गगनचुम्बी अट्टालिकाबाट निस्किएको छ
‘कालकुट’ विष ।
फैलिएको छ गाउँमा संत्रास/संकट
हसरिशन्द्र छ गाउँ शून्य हात ।
शून्य हात लिएर गाउँ
शहर पस्न थाल्यो र खोज्न थाल्यो इन्टरनेटको महाकाशमा
आफ्नो ‘पुरननोवा’ अस्तित्व ।
रिक्थमा पाएको त्यो हरियो वैभव
कंक्रिटको धुलोसँग साट्न हुँदैन सुदामा।
चराले सुनाउँथ्यो गीत ।
गाउँदेखि चराहरु कहाँ गए?
गाउँले पठाएका एसएमएस पाउँछन् ती चराहरूले?
समयको मोबाइल फोन पढिरहन्छु
हरपल/हरक्षण गाउँले पठाएका
एसएमएसहरू…
रूख/फूल/नदी/अन्नबाली—सबै छैनन् गाउँमा ।
बगेर आएको त्यो तप्त साइवरनेटिक नदीमा
खुट्टा चोबलेर गाउँका भुकुल्ले ठिटाहरू
भाइरसयुक्त राग आलापिरहेछन्
सभ्यता/शताब्दीको कुरुप बेला रेटेर।
‘गाउँ डब्लु डब्लु डटकम’मा हेर्छु
मेरो बाजेको गाउँ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment