आज भर्जिनियाको समाचार-सारांश छ:
अमेरिकाको एक युनिभर्सिटीमा दक्षिण-कोरियाली विक्षिप्त छात्रद्वारा फायर गरिँदा तिस मृतकहरूमध्ये भारतीय मूलका शिक्षक र छात्राको मृत्यु ।

कम्युनिष्ट मेनिफेष्टो काखि च्यापेर
सुदामा

इतिहासमा आफ्नो नाम हाइलाइट गरेर
हातमा स्केचपेन खेलाउँदै फर्केको स्वाभिमानी
राजा पुरुहरू
यो कालको बङ्करमा बसेर
आफ्नो प्राप्तिको एक्सरे-प्लेट हेरिरहेछन्
अनि च्यापिएको अरण्यकान्डले बेरेर
पिज्जा निलिरहेछन् ।

यो सहस्राब्दीले
मुखमा
बन्दुकको सिग्रेट झोसेर
मृत्युको धुवाँ फुकिरहेछ ।

शान्तिले आफ्नो कालो बुट सडकछेऊको कलिलो बालकलाई पालिस गर्न लाउँछ । विद्रोह पनि आदिवासी बालिकाले ढकढकाएको यौवनको दैलोमा ठूलो ताला भाषणको निम्ती स्क्रिप्ट तयार गर्दै तातो चियाको तलतल मेट्न चाहान्छ । काठे गुडियाको अनुहार भावशून्य रहिरहन्छ । पोस्टरका परेवाहरु चल्मलाउँदैनन् ।
मायाको दस्तावेजसित
एन्थ्र्या्क्स जान्छ दाह्राको एम्बुस बोकेर
अनि
सिनो गन्हाउँछ लाश बोकेर
इराकबाट
आउँछ
एयरपोर्टमा एउटा त्रासदी ।

भिडियो गेमको पर्दाबाट
कुनै बालकलाई
काउण्टर स्ट्राइकले
आधुनिकतम पिस्तोल थमाउँदै
बीभत्सरसको तातो जुस पिलाइरहेछ ।
स्कुलबाट
खेतबारीहरूबाट
थुर्रिएको गोलीको आवाजले
हावालाई मृत्युमय
रङ्ग दिएकोछ ।

जलेको बस
रगत पोतिएको सडक
चप्पलहरू र आरडीएक्स
फुटेको मादल र टीएनटी
कारगिल र सताइस जुलाई
११ सितम्बर
कलिङ्गसितै शहीद अशोक ।