Pages

Tuesday, September 7, 2010

यी शब्दहरू: यी हरफहरू

उदांगो आकाश साक्षी छ।
टण्टलापुर घाम साक्षी छ।
यी शब्दहरूलाई मैले
शून्यबाट ओकलेर निकालेको होइन।
यिनीहरूलाई मैले,
शहरका ठूलाठूला राजमार्गका
दायाँ र बायाँ पेटीबाट
मध्यान्हको भाभरमा छटपटाउँदै गर्दा उठाएर ल्याएको हुँ।
हावामा मुठ्ठी घुमाएर उप्जाएको होइन मेले यी हरफहरूलाई।
यिनीहरूलाई मैले
बन र बेँसी
कान्ला र भीरबाट
पैह्रोमा पुरिँदै गर्दा उचालेर ल्याएको हूँ।
झूट लाग्नसक्छन् तिमीलाई यी शब्दहरु
स्टेशनका चटके जस्तै।
फटाहा र जाली देखिनसक्छन् यी हरफहरू,
तर ठूलो रेललाई
मसिना लिकले थामेको सत्य हो।
लिकलाई असंख्य रोडाले काँध हालेको झन सत्य हो।
नबुझ्नू यो कविता।
नसुन्नू मेरो कुरा।
तर जंगलका यी अग्ला सलक्की रुखलाई लाहाँचेले ठुँगेको सत्य हो।
नत्र किन बासिरहन्थ्यो न्याहुल;
न्याहुल त्यसरी एकतारे बासिरहनु झन सत्य हो।

No comments:

Post a Comment