Tuesday, September 7, 2010
पदचिन्ह
अभिप्साको रेतिलो खडेरी
मेरो मूर्च्छनाको चित्रबस्ती
मौन अनि नि:शब्द ।
आखिर,
तिमी आयौ
अनवरत मरूभूमि पार गर्दै
परन्तु कसैको निम्ती
हृदयग्राही तिम्रो तृष्णाका केही बूँद
ग्रहण गर्न पाउँ
तिम्रो जीवनको केही थोपाहरू
यो बञ्जर छाती भिजाउँन पाउँ
अनि पाउँ
मेरो नग्नतालाई ढाक्न
मात्र हत्केलाभरिको वस्त्र ।
यद्यपि
म अञ्जान होइन
तिमी स्वयम् पनि मरुभूमिमा छौ
मसम्म पुग्नलाई
तिमी सुस्त-सुस्त कदम बढाऊ यतातिर
खडेरीका प्रखरहरू टेक्दै
नजिक
मेरो हृदय नजिक ।
त्यो जीवजल
क्लान्त तिम्रो उच्छवासबाट अनायासै निचोरिएर
बञ्जर छातीमा
केही दबेको नाभि हुँदै
योनाङ्गसम्म अनि
उर्वर भइदिन्छ रेगिस्तान ।
अभीप्साको रेतिलो खडेरी
ए! मेरो मूर्च्छनाको चित्रबस्ती
यसक्षण मलाई तिम्रो मौनता र नि:शब्दताबाट
उठेर एउटा जवानी बाँच्न देऊ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment