सपनाका साना रंगहरू समेत,
लाग्छ, मेरो होइनन्।
अभावका अज्ञात पदचापहरू/ठूलो
बजेर
भित्र अन्तरमा कतै
भयभीत छु म
सशङ्कित छु म
आगत/अनागत सम्झिरहेछु/आफैलाई
बिस्कुन ओछ्याएर
अघिल्तिर।

सन्चो नभएको धेरै भो
कुशलता सोध्ने/आफन्तहरू
पनि छैनन्।
राजपाटदेखि धेरै टाढा कतै
समुद्र्को बन्धनले बाँधिएको
विरानो टापूमा/अनायासै
ब्यूँझिएको अज्ञात राजकुमार जस्तो
छक्क परिरहेको छु म;
सपना विपनाको दोभानमा
आफूलाई चिमोट्दै
निदाएको/ब्यूँझेको/छुट्याउँन
खोजिरहेको म।

हिजआज बिसन्चो छु।
अदृश्य चोटहरू/दुखेको छु।
म।
अगणित अपमान नीलडाम/सहेको छु
म।
अनेकपल्ट मर्दै-बौरिँदै बाँचेको छु
म।
शिरनत छन् आज मेरै समक्ष
धृतराष्ट्रका आँखा भएका
विज्ञहरू-
अवगत सबै भएर पनि
नहेरेको मात्र द्रौपदीलाई!

मेरा प्रियहरूका बाहुबलले
रक्षित हुनसकूँ फेरि
म।
पाखा पखेरा
चाँप-गुराँसले हाँस्नसकूँ फेरि
म।
हिमालको मुकुटमा
चम्किनसकूँ फेरि
म।
कतै
सुप्त-ज्वालामुखी
फुट्छ कि भनेर
चियाउँनु भएको
म।
निद्राले बोझिल छन्/आँखाहरू।
सपना पर्खनुछ
बिहान पर्खनुछ
एउटा रातो घाम
पर्खनुछ।