Monday, September 6, 2010
शिशिर
भनी हेरी फेरी प्रकृति रसमाथि प्रतिदिन
झरी बज्रै पार्यो क्रूर नियतिले जीवन लिन ।
सबै थर्थर काँपे मगज जकडीयो कतिलुके ?
तुषारा औं ठीही वरपर जमी पोखरी सुके ।।
सुके नाला खोल्सा सलिल धरणी कठ्ठ कठियो
उता वृक्षा, मूना किरण रविको न्यानू हटिगो ।
कठांग्रीए साह्रा कुसुम वनका "ठी" जकडिया
सबै शुन्यै छायो नर, पशुविचै भो दुरदशा ।।
गुफा न्यानू खोज्दै वरपर डुलेका अतिकडा
बतासैले हम्की थिरिरिरि कँपाएर मुहडा ।
डुले आँसू झार्दै निरव वनभो छैन अखडा
अहो१ सेताम्यै भो वरपर चिसो हीम छ खडा ।।
बुटा, पोथ्रा, हाँगा तलतल नुहेका जमिनमा
"कहाँ मिल्थ्यो मीठो रसकुसुमको, काल छ यहाँ ।"
भनी भूँ भूँ गर्दै रस बटुलने माहूरि कतै
डुलेको दृष्यथ्यो बिकट पथमा हुर्मतहूँदै ।।
कतै नौलो ल्यायो प्रकृति रस फेरि प्रतिदिन
हरीयो थ्यो शोभा निरस बनियो रे छिनछिन ।
कुनैका आँखामा हिमकिरणको बादल भरि
लुके सुस्थै सुस्थै क्रमश विधिले तल्तिरझरी ।।
भयो त्यो बेलामा चहकमय जादू वरपर
बने सेता थुम्का विधिसँग हटे बास र घर ।
जमी पानी, घारा विधि अब त चट्टान बनियो
कठै यस्तो ठण्डी निठुर विधिको शासन भयो ।।
चरीले गाएको मधुर रव नै थर्थर गरी
थियो कम्पा बोली अतिविरसिलो ताल लहरी ।
"बनायो त्यो कस्ले रस विरसिलो आज यसको?
विलायो केले यो कुसुम रस मीठो निरस भो ।।"
भनी पंक्षी रुन्थी अमृत रसको प्यास बटुली
कतै गोता मार्थे भ्रमर रिसले राग नखिची ।
जतै हुस्मू, बादल् वरपर भरी टम्म छ घना
न ता त्यो हो रात्री न त दिनबिचैको नि सपना ।।
अतालीदै काप्तै थुरथुर हूँदै जन्तु वनका
थला गूफा त्यागी तल तल सरे शान्तछ कता-
"विलायो त्यो साह्रा सुखमय कला आज कसरी-"
भनी रुन्थे, उड्थे थरथर हुँदै बालक सरी ।।
नशा, हड्डी, छाला सब गठरियो हैम रसले
धुवाँको गो मुस्लो मुखविच नआँटेर बलले ।
कठै १ कस्तो शासन् शिशिर ऋतुको त्यो प्रहरमा
ढले लुते ल्यांग्रा थरथरहुँदै त्यो बगरमा ।।
कतै पंक्षी झर्थे सहन नसकी दुष्ट लहना
प्रभाको त्यो ज्योति प्रकृति रसको शुन्य सपना ।
अहो ! साह्रा सम्झी विवश कति हुन्थे अधमरा
अँध्यारैमा वित्यो निधि विधि दुवै भो परपर ।।
उही कालो जालो गगनविचमा टम्म छ सधै
विधाताले ठग्यो निधि पछि हटी जाल बुनदै ।
न चाँडो जाने भो तनविच रहेको घिडघिडो
नता सक्थे ज्यूनै सुखसयल भैगो नि धमिलो ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment