साहित्य ! तिमीलाई म धेरै चाहन्छु
त्रि्रो मायामा डुबेर चुर्लुम्म हुन खोज्छु
तर विवश छु कति विवश ....
आज चाहेर पनि तिमीलाई मेरो सम्पूर्ण माया
दिनै सकिन पे्रमपत्र लेख्नै सकिन
आफ्नै व्यस्ततालाई अंगाल्न कर लागिरहेछ
यो हातले छन्दहरुको मात्रा र गणहरु
के लेख्न आँटेको मात्र हुन्छ...
अगाडि आइदिन्छन् ती गणितका सूत्रहरु
ती सूत्रहरु भन्दछन्
के लेख्न तयार छौ अब - हाम्रो काम पहिले हुनुपर्छ
"हामी को हौँ, कसरी र कहाँबाट आयौं प्रमाणित गर"...
अब म टक्क अडिएर नियाल्न थाल्छु,
ती सूत्रहरुको सृष्टि पुकार्न थाल्छु,
तर कुनै सूत्रहरु त मसँग ठुस्स पर्छन् ....
तिनीहरुको दाँया-बाँया अंश सन्तुलित हुँदैन
त्यतिकैमा सारा विज्ञानका
सम्बन्ध र सूत्रहरुको भिड लाग्छ र भन्छन्
हैन नि महाशय, हाम्रो काम कतिखेर -
फेरी म ती सम्बन्ध र सूत्रहरुलाई सम्झाउन थाल्छु
कुनै सूत्रहरु त यति दुष्ट सम्झाएको बुझ्दै बुझ्दैनन्
तिनीहरु भन्दछन्, महाशय हामीलाई
अर्काको मगजसम्म पुग्ने सही बाटो देखाइदिनु होस्
बल्ल तल्ल अब तिनीहरुलाई बाटो लगाइदिन्छु
फेरी कम्प्यूटरको फ्लोचार्ट, प्रोग्राम
अनि वाइनरी प्रणालीको ताँती लाग्दछन्
कता डाटा,कता डिस्केट,कता माउस, कता प्रिन्टर
अब थकित भएर म किबोर्ड समात्छु,
तिनीहरुलाई सम्हाल्दै लान्छु मनाउँदै लान्छु
फेरि मोनिटरमा......इरोर,रोङ सिन्टेक्स,
ट्राइ अगेन जस्ता कुराहरु देखा पर्छन्..... उफ !
अब बल्ल ती सबलाई परिमार्जित गरिसक्ता
दिनको सारा समय लगभग सकिन्छ......
विचरा ! ती छन्दहरु कुक्रुक्क परेर पर्खिरहेका हुन्छन्
अब भोली भोली भन्दैमा तिनीहरुप्रति
मैले केही गर्न सकिन समय बितिरहेछ.......
चाहेर पनि केही दिन सकिन,
सम्पूर्ण मनको असल भावहरु
आज सडिएर दुर्गन्ध आईरहेछ,
अझै छन्दहरुले कुरिरहेछन्,
उनीहरुको सही ठाउँसम्म पुग्नलाई
मीठा-मीठा कविता बन्नलाई
कति कठोर बनिदिएँ तिनीहरुप्रति
अब म आफै सम्झन्छु
मैले तिनीहरुप्रति कति पक्षपात गरेँछु ।
No comments:
Post a Comment