Thursday, September 9, 2010
बा र बादशाह
बाको खाट भाँचियो
दलिनमा धुवाँका पत्र थपिए
बाको आफ्नै मुहारमा पनि
मुजैमुजा चाउरी भित्रिए
बाले 'खेताला' भन्ने गरेका दाँतहरु बाहिरिए
समयले लामो फड्का मार्दा पनि
बाको कोठामा नबदलिएको एउटै दृश्य
बादशाहको तश्वीर
उस्तै पिरो, उस्तै चिल्लो र कान्तिमय
आस्थाको संझयालमा सजाएको
वादशाहको तश्वीरलाई
पूजा र दन्डवत गर्दै
बाले भन्नुभयो-
'भगवान्, साक्षत भगवान् !'
दैत्य बध गर्ने भगवान्
निमुखाका सहारा
सिर्जना र संहारका एक मात्रर् इष्टदेव
'त्वम् शरणम्'
खेतबारी बाँझै भए पनि
बाले तिरो तिर्न आनाकानी गर्नुभएन
बालाई सडकको संसार थाहा भएन
वाद, जिन्दावाद, मुर्दावाद केही थाहा भएन
बा बरु भोकै बस्नुभयो
फाटेकै लुगामा रमाउनुभयो
तर देशसँग भत्ता माग्नुभएन
सत्ताको स्वाद थाहा पाउनुभएन
राजतन्त्र जान्नुभएन
लोकतन्त्र बुझ्नुभएन
तर वादशाहप्रति सदा श्रद्धावान रहनुभयो
सम्राटको संहारमा
सूर्य निभेसरी उदासिनुभयो
हिमाल ढलेसरी विरक्तिनुभयो
बाले औंला खियाइरहनुभयो
पाखुरी बजारिरहनुभयो
तर घेरा फाटेको टोपी फेरिएन
मुहारमा मुजा रोकिएन
कुर्कुच्चामा चिरा पुरिएन
प्रिय वादशाहलाई बाले
श्रद्धाका फूल चढाइरहनुभयो
तिमी नेपोलियन
तिमी भिक्टोरिया
तिमी एलिजावेथ
तिमी हिरोहितो
भुमिबोल अदुल्यादेज
जनताका सेवक
मान्छेहरुका नायक
दस औंला जोडेर बाले
कोटीकोटी नमस्कार गर्नुभयो नरेशलाई
यद्यपि बा दुब्लाउँदै जानुभयो
देश टाक्सिंदै गयो
ऋणले टुपीसम्म डुब्दा पनि
बाले राजप्रासादलाई खर्च दिइरहनुभयो
गाउँहरु ह्वारह्वारती जले
अनिकालले हाहाकार मच्चियो
निर्दोष छोराहरु ढले
छोरीहरु आँखै अगाडि बलात्कृत भए
भोका नानीहरुको रुवाबासी भयो
उता नीरोको विरासद थेग्न
नरेश मग्न थिए बाँसुरीमा
भोजमा, अभिनन्दनमा
अब बाको धैर्य थेग्न
कुनै बाँधहरु तयार थिएनन्
बाको आक्रोस रोक्न कुनै साँधसिमाना कोरिएनन्
आस्थाको संझयालबाट थुतेर
बादशाहको तश्वीर
नालीमा पछार्नुभयो
र मुठ्ठी कस्दै बाले भन्नुभयो-
'म जनता हुँ'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment